शिरमा धौलागिरि हिमाल अनि पाउमा कलकल बग्ने काली गण्डकी । रुईसेदेखि गलेश्वर मन्दिरसम्म विशाल छाति लिएर बसेको राखु भगवती । यहि राखु भगवतीमा करिव ३० वर्ष अघि बैसाख २१ गतेका दिन सुवेदार लाल बहादुर श्रेष्ठ र बिष्णुमायाको कोखबाट एक प्रतिभावान बालकको जन्म हुँदा सायदै कसैलाई लागेको थियोे होला यस बालकमा अनौठो प्रतिभा लुकेको छ । भोलि यहि बालक राखु भगवतीको मात्र नभई नेपाल कै सान बन्नेछ–पहिचान बन्नेछ ।

यहाँ चर्चा गर्न लागेको पात्र यत्तिकै यो स्थानसम्म आएको भने पक्कै होईन । उसको सफलता भित्र अनेकन संघर्षका कथाहरु छन्, व्यथाहरु छन् । जसरी लाखौं चोट सहेर पत्थर पुज्नलायक मुर्ति बनेर मन्दिरमा सजिन्छ त्यसरी नै सुधिरले सफल कलाकार सुधिर बन्न हजारौं हण्डर र ठक्कर खाएर मात्र सबैको मनमुटुमा राज गर्न सफल भएका हुन् ।

म्याग्दी राखुकै अधेरीखोलाबाट अक्षर शुभारम्भ गरी दुई कक्षा पुगेका सुधिरले बुबा लाहुरे भएका कारण गुजरात गई पुन कक्षा दोहो¥याउदै प्राथमिक कक्षा पूरा गरे । पर्वत कुश्माको नमुना सेकण्डरी बोर्डिङ स्कुलमाबाट एसएलसी उत्तीर्ण गरे पछि भने उनको राजधानी यात्रा शुरु भयो ।

काठमाडौं जाउलाखेलबाट प्लस टु गरेपछि र पोखरामा व्याचलर्स पढ्दै गर्दा उनमा कता कता कलाकार बन्ने भुत सवार भयो । अहिले प्रचलनमा रहेको टिकटकमा एउटा जोडि नियमित देखिन थाले । कता कता श्रीकृष्ण श्रेष्ठको झल्को दिने त्यो अनुहार टिकटक प्रेमीको दिलमा बस्न सफल भयो । विशेषगरी “कोहिनुर“ को फ्रेम टु फ्रेम हुबहु अभिनय गरेर सुपर हिट भए पछि उनी एकाएक चर्चाका पात्र बन्न सफल भए ।

“हो, यहि टिकटक फ्रेम अभिनय मेरो जिवनको टर्निङ प्वाइन्ट हो । धेरैले चिने अनि मन पराईदिनु भयो ।” त्यो समय सम्झदै सुधिर थप्छन्–“दुईवटा डान्स एकेडेमी सञ्चालन गरि मेला र महोत्सवमा कोरियोग्राफरको जिम्मेवारी निभाउदै नृत्य लैजाने गरेको थिए । सन २०१४ मै मैले चलचित्रको असिस्टेन्ट कोरियोग्राफर बनेर क्यारियरको शुरुआत गरे ।

त्यसको लागि सानो नेगेटिभ रोल पनि स्वीकार गरेको थिए । जब कोहिनुर सामाजिक सञ्जालहरु टिकटक, फेसबुक, ईन्स्ट्राग्राम, युट्युवमा सुपर हिट भयो अनि मलाई अफर र कल आउन पनि शुरु भयो ।” नृत्यमा पोख्त सुधिरको युट्युव च्यालनमा मात्र दुई लाख बहत्तर हजार सस्क्राईबर छन् । टिकटकमा पाँच करोड बत्तीस लाख भिउ र पाँच लाख सतासी हजार एक सय फ्लोवर्स रहेका छन् ।

“भाको कुरा गर्न पर्छ ढाट्नु हुदैन … ” बोलको गित���ा जब अभिनय गरे उनमा छुट्टै उस्साह पैदा भयो । ६ वर्ष पहिले भाको कुरा गरेको गितमा अभिनय गरेपनि जब “ए, हे ! मायाले ” तहल्का पिट्यो अनि उनले कहिल्यै पछि फर्केर हेर्नू परेन । यहि गितलाई उनी आफ्नो क्षेत्रमा कमव्याकको रुपमा लिन्छन् । “नबोली नबोली…, दुरी मजबुरी…., बेनी बजारमा…, घुम्तीमा रेल…., कुरा काट्ने मान्छेले काटुन… ” जस्तो दुईसय भन्दा बढि एक से एक हिट गितमा अभिनय गरेका सुधिर अहिले व्यस्त मोडेलका रुपमा स्थापित भएका छन् ।

सफलताको श्रेय बुबाआमा, जीवनसंगीनी सहित परिवारजन, निर्माता निर्देशक, सहकर्मी कलाकारहरु, शुभचिन्तक र फ्यानहरु साथमा संघर्षको समयमा साथ दिने साथीहरू र विद्यार्थीहरुलाई दिन चाहन्छन् । अहिले पनि “अविरल मायाको कोसेली…., यौटा कथा… ” जस्ता दर्जनौ म्युजिक भिडियो रिलिजको क्रममा छन् ।

लाखौं युवायुवतीको दिलमा बस्न सफल सुधिर भने विवाहित हुन् । उनको विवाह कथा पनि फिल्मको भन्दा कम छैन । रोमाञ्चित हुदै सुधिर सम्झन्छन्–“हाम्रो भेट बिहे भोजमा भएको हो । दुवै कलाकारिता क्षेत्र मन पार्ने, त्यसैले मन पनि मिल्यो। तर विवाह चाहिँ एरेन्ज म्यारिज नै हो । हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ ।

यो कुरा सुधिरमा पनि लागू भयो । भैरहवाका रोशनी श्रेष्ठले सुधिरलाई सफल बनाउन हातमा हात–काँधमा काँध मिलाएर साथ दिएकी छिन् साथका “श्री” लाई जन्म दिएर थप हौसला दिएकी छिन् । सुधिर आफ्ना जीवनसंगिनी रोशनीले पाईला पाईलामा साथ दिएकोले आफू अघि बढ्न सफल भएको स्मरण गर्छन् ।

“उनी आफै कलाकार भएकोले समस्याहरु बुझ्छन्, एक आपसमा समझदारी बनेकोछ, उनी पाउनु नै मेरो भाग्य चम्कनु हो । ” सुधिर थप्छन्–“छोरी “श्री” त मेरो “लक्की चाम” हो । जब उनको आगमन हुने खुशी मात्र के मिलेको थियो सफलताले एकाएक पछ्याउन थाल्यो । त्यसैले छोरीको नाम पनि नेपाली फिल्म जगतका सफल नायक र उत्कृष्ट नृत्यकार श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै “श्री” राखेको हुँ ।”

मास्टरब्राष्टर क्रिकेटर सचिन तेन्डुल्करबाट प्रभावित भै पहिले सफल क्रिकेटर बन्ने सपना बोकेका सुधिर महानायक राजेश हमाल र बादसाह शाहरुख खान लगायतका कलाकारहरुबाट प्रेरित हुदै कलाकारितामा पाईला टेकेर आधुनिक तर्फ ४ पटक वेष्ट मोडेल र १ पटक लोकदोहोरी तर्फ पनि उत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएका छन् । खुट्टामा समस्या भए पनि बेवास्ता गर्दै उनी कलाकारिता क्षेत्रमा थप केही गर्न चाहन्छन् । फिल्मी क्षेत्रलाई नै जीवनको उद्देश्य बनाएका उनी परिवारजनलाई पनि सुखि राख्न चाहन्छन् । “बुझेर र क्षमतावान बनेर मात्र यो क्षेत्रमा आउनुहोला ।”

नयाँ आउन चाहने कलाकारहरुलाई सुझाव दिदै सुधिर थप्छन् –“गडफादर नहुनाले सफलता पाउन लामो समय संघर्ष गर्नु प¥यो । मेरो मेहनत, लगनशीलता र धैर्यता, मेरा लागि साथदिने आफन्तजन, शुभचिन्तक फ्यानहरु र अभिनय गराउनु हुने निर्माता निर्देशकहरु र जस–जसले कलाकारिता क्षेत्र धान्नु भएको छ उहाँहरु सबै नै मेरा गडफादर हुन ।” उनी थप्छन् –“फ्यानहरु मेरा लागि भगवान हुन् । सधै माया ��� साथ दिनु भएको छ । भविष्यमा पनि दिई राख्नु होला ताकि मैले नयाँ उर्जा प्राप्त गरी राखु भगवती, म्याग्दी जिल्ला र समग्रमा नेपाल देश कै नाम राख्न सकु । शुभचिन्तकहरुलाई मनोरञ्जन दिलाउन सतप्रतिशत प्रयासरत रहनेछु ।”

“यो क्षेत्रमा लागेको एक दशक भयो । करिव आठ वर्षको मेहनत पछि मात्र सफलताले पछ्यायो ।” शुरुका संघर्षमय दिन सम्झदै उनी भन्छन्–“शुरुका दिनहरुमा डान्स डाईरेक्सन र कोरियोग्राफि गरे । पाँचै सेकेन्ड देखिने म्यजिक भिडियो पनि गरे । जय शम्भो, के म तिम्रो होईन र ….जस्तो फिल्ममा सानातिना रोलहरु गरे । ज्याकपट नामक फिल्ममा मुख्य रोल गरे तर विडम्बना रिलिज भएन । समुन्द्ररुपि यो क्षेत्रमा टिक्न र स्थापित हुन चानचुने कुरा थिएन । पहिलेको संघर्ष थाहा नपाउनेहरु टिकटकबाट स्थापित भएको भन्छन् । तर मैले दुःख मनाउ गर्दिन । कारण टिकटक मेरो लागि राम्रो प्लेटफर्म बन्यो । फ्यानहरुसंग र निर्माता निर्देशकहरुसंग जोड्ने पुलको काम ग¥यो । फिल्म ईन्ड्रष्ट्रिले नोटिस ग¥यो । यस मानेमा धेरै खुशी छु ।”

जे होस् बाल्यकाल म्याग्दी राखु भगवतीमा बित्दै त्यस पछिको समय पर्वत कुस्मा, कास्की पोखरा हुँदै कर्मक्षेत्र काठमाडौ भएकोले उनलाई कसैले रखाले, कसैले म���याग्देली, कसैले कुश्मेली, कसैले पोखरेली त कसैले राजधानीबासी भनेर चिन्छन् । जसले जे भनेर चिने पनि अति मिलनसार, सहयोगी, अग्रजलाई सम्मान र सहकर्मीलाई माया गर्ने, रत्तिभर घमण्ड नपालेका, कामलाई नै आफ्नो प्यासन सम्झने सुधिर नेपाल कै नाम राख्नेमा अग्रसर छन् । भावि दिनमा म्याग्दीको मात्र होईन नेपालकै पर्याय बन्न सकुन । कलाकारिता क्षेत्रको नक्षेत्र बन्न सकुन । शुभकामना !

Leave a Reply