काठमाडौं– सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा संलग्न देखाइएको छ। समितिका एक सदस्यका अनुसार सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका देखिएको छैन।
लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकाले त्यहाँ आएको रकम खर्च गर्दा उनले हस्ताक्षर गरेका हुन्। गोरखा मिडिया कम्पनीका अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए।
समितिका अर्का सदस्यका अनुसार रवि, जीवी र छवि समेतले गोर्खा मिडियाको सेयर लिने, पैसा जम्मा गर्ने र भौचर बुझाउने कार्य कानूनसम्मत देखिएको छैन।
समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर्याएको छ। उनीमाथि अनुसन्धान गर्न समितिले सिफ���रिस गरेको छ।
समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो।
समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो। उनीमाथि पनि अनुसन्धान गर्न समितिले सरकारी निकायलाई पत्राचार गर्ने समितिमा सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।